१ चैत, काठमाडौं । नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ लिएर अहिलेकै सरकारलाई निरन्तरता दिने तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच भेटघाट बाक्लिएको छ । सत्ता साझेदारीका लागि वार्ता टोली नै गठन गरेर एक चरण प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेलगत्तै जसपाले कांग्रेस र माओवादी केन्द्रसँग पनि छुट्टाछुट्टै छलफल गरेको छ ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका जसपाका नेताहरूले शनिबार माओवादी केन्द्रसँग छलफल गरेको छ । माओवादीको कार्यालय पेरिसडाँडामा बसेको बैठकमा ओली सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको छ । बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले बैठकले ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष निकालेको बताए ।
उनले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने जिकिर गर्दै भने– ‘कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानु ? ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र ओलीलाई सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्यका लागि दौडधूप गर्दै आएका जसपाका अर्का अध्यक्ष महन्त ठाकुरले सत्ता समीकरणबारे माओवादी केन्द्रसँग सकारात्मक कुराकानी भएको बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।