१ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विदेशमा मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार पछिल्लो ६ साता यता पहिलो पटक विदेशमा संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्यमा कायम रहेको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलियो कोरोना भाइरस संक्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको निधन भएको थियो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता कोरोना संक्रमण दरमा समेत उल्लेख्य रुपमा कमी आएको छ । यो साता स्वीडेन, स्पेन, केन्या, युएईमा रहेका थप नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।
उनका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३ सय ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार २ सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार १४ जनाको निधन भएको छ ।