१ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले धार्मिक कार्यमा राजनीति नगर्न सुझाव दिएका छन् ।
हनुमान ढोका दरबार संग्राहलय विकास समितिको १० औ वार्षिकोत्सवको अवसरमा आइतबार दरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले राजनीतिक रुपमा गर्नुपर्ने आलोचना र विरोध राजनीतिक ढंगले नै गर्न र अनावश्यक रुपमा धार्मिक एवम् पवित्र कार्यमा राजनीति नगर्न सुझाव दिएका हुन् ।
पशुपतिमा सरकारले राखेको जलहरी र संग्राहलयले गरेको गहना प्रदर्शनीको विरोध गर्नेहरूप्रति लक्षित गर्दै उनले धार्मिक एवं पवित्र कार्यलाई सकारात्मक ढंगले सोच्न आग्रह गरेका हुन् । उनले पशुपतिमा जलहरी राख्ने काम तिव्र ढंगले सम्पन्न भएको र सो कार्यमा सरकार सफल भएको दाबी गरे । उनले जलहरी राखिसकेपछि सर्वोच्च अदालतबाट फैसला आएकोमा पनि खुसी व्यक्त गरे ।
‘पशुपतिमा हामीले सुनको जलहरी लगाउने निर्णय गर्यौ । परापूर्वकालमा निर्माण भएको बेला त्यो तामाको रहेछ । शाहकालमा आइसकेपछि त्यसलाई चाँदीको लगाउनुभएको रहेछ,’ उनले भने, ‘अहिले पशुपतिको मन्दिरमा जुन जल चढाइन्छ त्यो जल निस्केर जहाँ जानुपर्ने हो त्यो त्यहाँबाट तल जाँदा पशुपतिनाथको मन्दिर नै धरासायी हुने अवस्था भएपछि तामाको थियो, चाँदीको राखियो, अब सुनकै राखिदिउँ भनेर हामीले शिवरात्रीको दिनसम्म पारेर सुनको जलहरी लगाइसक्ने भनेर हामी लाग्यौ ।’