१० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)सँग सहयोग मागेका छन् । ओलीले आज जसपा नेताहरुसँग छलफल गर्दै सरकारलाई विश्वासको मतमार्फत सहयोग गर्न आग्रह गरेका हुन् ।
“प्रधानमन्त्रीले सहयोग गर्नुस् भनेर प्रस्ताव राख्नुभयो,” भेटपछि जसपा नेता लक्ष्मणलाल कर्णले भने, “हामीले सहमति कार्यान्वयन गरेर देखाउनुस्, हामी सहयोग गर्छौँ भनेका छौ ।” उनले विगतमा ‘उधारो’ सहमति लागु नभएको भन्दै यसपटक हाताहाती मात्र सहयोग लिने बताएको जानकारी दिए ।
“जे जे गर्न सहमत हुनुहुन्छ, हाम्रा माग पूरा गरेर देखाउनुस् भनेका छौँ,” कर्णले भने, “हामीले राखेका सबै माग तत्काल पूरा गर्न सुरुवात गर्नुपर्छ ।” सबै माग पूरा गर्न त सम्भव नहोला नि ? भन्ने प्रश्नमा उनले चाहेपछि सम्भव हुने बताए ।
“नागरिकता ऐनको संशोधनका लागि सरकारले विधेयक लैजानुपर्यो, संविधान संशोधनका लागि पनि विधेयक संसदमा लैजानुपर्यो,” कर्णले भने, “रेशम चौधरीसहितका राजबन्दीहरु रिहाइ हुनुपर्यो, झुटा मुद्दा फिर्ता हुनुपर्यो ।”
उनले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसहितका विषय संविधान संशोधनमा समेटिनुपर्ने बताए ।