२४ चैत, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले २०७७ सालका लागि ‘विज्ञान तथा प्रविधि युवा पुरस्कार’ युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका प्राचार्य एवं सहप्राध्यापक ई. डा. भेषराज थापालाई प्रदान गरेको छ ।
नास्टले प्रत्येक वर्ष मेरिट अर्थात् अनुसन्धान पेपरको संख्या, इम्प्याक्ट फ्याक्टर र उक्त अनुसन्धानले नेपाल र अन्तर्राष्ट्रिय जगतमा खेलेको भूमिका र पुर्याएको योगदानका आधारमा ४० वर्षमूनिका नेपाली युवा वैज्ञानिकहरूलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । यस वर्षको लागि ई. डा. थापालाई जलस्रोत (वाटर रिसोर्स) को अनुसन्धान क्षेत्रमा पुर्याएको प्राज्ञिक-वैज्ञानिक योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो ।
‘इन्टिग्रेटेड रिभर बेसिन म्यानेजमेन्ट’मा जापानको यामान्सी विश्वविद्यालयबाट पीएचडी गरेका उनलाई सोधकार्यमा देखाएको उत्कृष्ट प्रस्तुतिको सम्मानस्वरुप नेपाल सरकारद्वारा ‘नेपाल विद्याभुषण- क’ उपाधिद्वारा समेत विभूषित गरिएको थियो । जापान सरकारद्वारा प्रदान गरिने ‘मेक्सट छात्रवृति’ मार्फत् उनले आफ्नो पीएचडी अध्ययन सम्पन्न गरेका थिए ।
साथै, डा. थापालाई नास्टको एसोसियट फेलोको आबद्धता समेत दिइएको छ। नास्टको “ब्रेन पुलिङ्ग नेपाल कार्यक्रम” अन्तर्गत गरिएको आह्वानमा प्राप्त वैज्ञानिक, विज्ञ तथा प्राविधिकहरूका प्रस्तावना मध्येबाट उनलाई उत्कृष्ट छनोट गर्दै यो आबद्धता प्रदान गरिएको हो। कार्यक्रममा थापासँगै विज्ञान प्रविधिका ११ भिन्न विधानहरूमा १७ व्यक्ति वा संस्थाहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।