१ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल साबित भएको भन्दै सत्ता स्वार्थ र भागबन्डाको लुछाचुँडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको बताएका छन् ।
राप्रपा काठमाडौं महानगर समितिद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले संबैधानिक अंगका प्रमुखहरु माथि नै गम्भीर आरोप प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य ब्यवस्था माथि प्रश्न चिन्ह खडा भएको बताए ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान नसकिने भन्दै त्रुटिपूर्ण मार्गचित्र परिवर्तन गर्नको निमित्त गम्भीरता पूर्वक चिन्तनमनन् हुनुपर्नेमा थापाको जोड थियो ।
अहिले मुलुकको ठुलो समस्या भनेको भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन, कुशासन र सर्वसत्ताबाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने वैकल्पिक शक्ति मुलुकले खोजिरहेको बताएका हुन् ।