२२ वैशाख, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका छन् ।
बुधबार देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सरकारलाई सघाउन गरेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस प्रतिपक्षी दल भएकाले र सरकारको काम र व्यवहारका कारण सहयोग गर्नै नसकिने जानकारी गराइएको सहमहामन्त्री महतले बताए । वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले सहयोग गर्न आग्रह गर्दै सभापति देउवा लगायत कांग्रेस नेतासँग बुधवार छलफल गरेका छन् ।
देउवालाई भेट्न उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र एमाले संसदीय दलका उपनेता समेत रहेका संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ बूढानीलकण्ठ पुगेका थिए ।