समाचार

कोरोना महामारी नियन्त्रणमै रहेको प्रधानमन्त्रीको दाबी

kp oli

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन । ‘अन्य छिमेकी मुलुकमा जस्तै नेपालमा पनि कोरोना भाइरस फैलिरहेको छ ।

तथापि कोरोना अहिले ‘अन्डर  कन्ट्रोल’मा छ,’ सिएनएनको प्रत्यक्ष प्रसारणका लागि अन्तर्वार्ता दिँदै ओलीले भनेका छन् । नेपालमा अहिले कोरोनाको दोस्रो लहर फैलिएको छ । पछिल्ला दिनमा दैनिक नौ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । त्यस्तै दैनिक ५० भन्दा बढी संक्रमितले ज्यान गुमाइरहेका छन् ।

यस्तो बेलामा कोरोनाविरुद्धको लडाइँ नियन्त्रणमा रहेको दाबी गरेका प्रधानमन्त्री ओलीले छिमेकी मुलुक, मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संघसंगठनसँग सहयोगको अपिल गरेका छन् । उनले महामारीविरुद्ध आवश्यक भ्याक्सिनलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

अन्तर्वार्ताका क्रममा उनले नेपालमा कोरोनाबाट हालसम्म तीन हजारभन्दा बढीले ज्यान गुमाइसकेको बताए । उनले यो संख्या कुल संक्रमितको एक प्रतिशतभन्दा कम भए पनि नेपालको सन्दर्भमा धेरै भएको बताए । महामारी नियन्त्रणका लागि सरकार लागिपरेको जानकारी दिँदै उनले अक्सिजन र आइसियुलगायतको प्रबन्ध मिलाइरहेको बताए ।

गत वर्ष नेपाल महामारी नियन्त्रण गर्न सफल भएको भन्दै प्रधानमन्त्री ओलीले जनताको लापरबाहीका कारण पुनः महामारी फैलिएको बताए । जनतालाई महामारीबाट सुरक्षित राख्न प्रयासहरू जारी राखेको पनि उनले बताए । यो समाचार नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस