२७ वैशाख, काठमाडौं । साताको पहिलो दिन गिरावट आएको सेयर बजारमा आज दोस्रो कारोबार दिन भने बढेको छ । आइतबार १८ अंकको गिरावट भएको बजार परिसूचक नेप्से सोमबार २७.४१ अंकले वृद्धि हुँदा २६४५.८६ अंकमा बन्द भएको छ ।
आइतबार २६१८.४४ अंकमा बन्द भएको नेप्से सोमबार प्रि ओपन सेसनमा ५ अंकभन्दा माथिले घटेर २६१३.१८ अंकमा खुलेको थियो । बजार खुलेको केही मिनेट ओरालो लागे पनि लगत्तै उकालो लागेको बजार अन्ततः १ प्रतिशतभन्दा माथिले बढेर बन्द भएको छ ।
बजार परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्बमाथिको कारोबार भएको बजारमा आज भने कारोबार रकम ४ अर्ब २० करोडमा सीमित भएको छ । आज नेप्सेमा ७५ लाख ७९ हजार ३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ३८ लाख ३३ हजारको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस