८ जेठ, काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी दलले प्रतिनिधिसभा भंग गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी रुपले कडा प्रतिवाद गर्ने निर्णय गरेका छन् । आज बसेको बैकठकले प्रतिनिधिसभा विघटन गरेर मध्यावधिको घोषणा गर्ने कार्यको भत्र्सना पनि गरेको छ ।
“प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भई राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं,” बैठकपछि जारी वक्तव्यमा भनिएको छ, “राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटन गर्ने प्रतिगनकारी कार्यका विरुद्ध एकजुट भई नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रिक गणतन्त्र, सामवेशी लोकतन्त्र एवम् नेपालको सर्वोपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न हामी सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायमा हार्दिक आव्हान गर्दछौं ।”
