१० जेठ, काठमाडौं । संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
सोमवार दिउँसो २ बजे विपक्षी गठबन्धनका १६४ सांसदको हस्ताक्षरसहित रिट दर्ता गरिएको हो ।
रिट दर्ता गरेपछि सर्वोच्च अदालत परिसरमा पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने परमादेश र प्रतिनिधिसभा पुनःस्थापनाको आदेश माग राखिएको जानकारी गराए ।
रिट दर्ता गर्न कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपालसहित नेताहरू सर्वोच्च पुगेका थिए । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले ५४ प्रतिशत सांसदको हस्ताक्षरसहित आफूहरू सर्वोच्च आएको बताए ।
रिट निवेदनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल पक्षका २३, जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी १ गरी १४६ सांसदले हस्ताक्षर गरेका छन् ।