१८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी भइरहेको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी थप्नेबारे छलफल भएको थियो ।
सो छलफलले अहिलेको निषेधाज्ञालाई केही खुकुलो बनाएर १० दिन थप्ने निष्कर्ष निकालेको हो । निषेधाज्ञा थप्ने आदेश भोलिमात्रै जारी हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको पराजुलीले बताए ।
साथै निर्माण क्षेत्रमा काम रोकिएकोले निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका काम गर्न दिनेबारे पनि छलफल भएको छ । कोरोना संक्रमणदर उच्च भएपछि गत बैशाख १६ देखि उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको थियो ।