१३ साउन, काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित एक सुनचाँदी पसलमा हतियार देखाई लुटपाट गर्न खोजेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । स्थानीय खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाइ लुटपाट गर्न खोजेको अभियोगमा बुधबार बिहान प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्नेहरु संखुवासभा सभापोखरी गाउँपालिका-४ घर भएका ३९ वर्षीय प्रकाश भन्ने चन्द्र बहादुर राई, संखुवासभा बारबिसे गाउँपालिका-६ घर भएका ३० वर्षीय चिरञ्जिवि राई, भोजपुर पौवादुम्मा गाउँपालिका-३ घर भएका ३० वर्षीय नगेन्द्र राई, सुनसरी गढी गाउँपालिका-१ बस्ने ४५ वर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी, मोरङ सुन्दरहरैचा नगरपालिका-५ बस्ने २२ वर्षीय मिशन राई र मोरङ सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् ।
प्रहरीका अनुसार असार ३१ गते मोटरसाइकलमा आएका ६ जनाले ज्वेलर्समा लुटपाट गर्न खोजेका थिए। तर, लुटपाटको योजना सफल नभएपछि उनीहरु वुढी खोलाको बाटो हुँदै इटहरीतर्फ गएका थिए ।
गहना पसल लुटपाट गर्नका लागि लगेको हतियार उनीहरुले नमूना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाइ छिपाइ राखेका थिए । त्यसपछि उनीले साउन १ गते दिउँसो फेरि उक्त ज्वेलर्समा लुटपाट गर्ने उद्देश्यले हतियारसहित प्रमोद चौधरी लगायत ३ जना प्रवेश गरेका थिए । अन्य ३ जनाले गहना पसलको निगरानी गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार उनीहरुले सुन्दरहरैंचा नगरपालिका–५ नमुना सामुदायिक वनको करमको रूखको टोड्कोभित्र लुकाइ राखेको अवस्थामा घटनामा प्रयोग भएका १ थान एसएमजी, सोको १ थान म्याग्जिन, ६२ राउण्ड गोली, १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, २ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, थ्रिनटथ्री राइफलको ४ राउण्ड गोली र २ थान सञ्चार सेट प्रहरीले बरामद गरेको छ ।
साथै उनीहरुको साथबाट को २ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १-०२-०४४ प ५९९५ मोटरसाईकल, को २० प १८६ मोटरसाईकल, को ८ प ६५८३ मोटरसाईकल, को २१ प ६७०३ मोटरसाईकल, ८ थान मोबाइल र नगद १६ हजार १ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।