३२ साउन, पाल्पा । तानसेन नगरपालिका–७ सालघारीमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
काठमाडौंबाट तानसेन नगरपालिका–७ कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विङ्गर गाडी प्रभास–सराई भित्रि सडकखण्डअन्तर्गत सालघारीमा सोमबार बिहान पौने १० बजे दुर्घटना भएको हो ।
घाइते हुनेमा तानसेन नगरपालिका वार्ड ७ का २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँमा २८ वर्षीय विक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवाल, ३२ वर्षका हुमबहादुर सारु, ३३ वर्षका विक्रम नेपाली, २९ वर्षका अनुज पल्ली, ३० वर्षका सोमबहादुर न्यौपाने , २८ वर्षका योगेश सारु, ३३ वर्षका पवनकुमार ग्राह, ३५ वर्षका सन्तोष गैरे रहेका छन् ।
यस्तै तानसेन नगरपालिका वार्ड ६ का ३३ बर्षीय चालक सोम राना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सबै घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ ।