एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–९,सनिबार ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अरुण नदीको तटीय क्षेत्रमा रहेका १७ वटा घर जोखिममा परेका छन् ।
लगातारको वर्षाले भोटखोला गाउँपालिका–५ कपासेमा रहेको १७ वटा घर र बाल केन्द्र विद्यालय जोखिममा परेको हो । बाढीले माटो कटान गर्न थालेपछि अरुण नदीको तटीय क्षेत्रमा रहेका ती घरहरू बाढीको जोखिममा परेको स्थानीय सञ्जय खालिङ राईले बताउनुभयो । नदीले कटान गर्न थालेपछि स्थानीय उत्तरबहादुर राईको घरका सामान सुरक्षित ठाउँमा सारिएको छ ।
गोला प्रहरी चौकीबाट प्रहरी टोली गई जोखिममा रहेका स्थानीयलाई सुरक्षित ठाउँमा रहन आग्रह गरेको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले बताउनुभयो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले दुई दिनदेखि परेको पानीले भोटखोला–५ को कपासे, वारिपट्टि गोलाबजारका स्थानीय र भोटखोला गाउँपालिकाको जोखिमयुक्त ठाउँहरूमा यात्रा नगर्न र सचेत रहन आग्रह गरिएको बताउनुभयो ।