एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र १२,मंगलबार ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव घुससम्बन्धी घटनामा अख्तियारको नियन्त्रणमा परेपछि निलम्बित भएका छन् ।
घुससम्बन्धी प्रकरणमा अध्यक्ष यादवलाई आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बित भएका हुन् । अख्तियारले उनलाई भदौ ६ गते नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी गराएको हो । गत भदौ ७ गते आयोगले गाउँपालिकालाई पत्राचार गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६९४० बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी दिएको हो ।
घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि पालिका अध्यक्ष यादवलाई भदौ ६ गते बुधबार साँझ अख्तियारले नियन्त्रणमा लिएको थियो । गत साउन ३१ गते सोलार सम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसवापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्यूटर अपरेटर वीरेन्द्र यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।