एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक १४, मंगलबार ।
जनकपुरधाम उपमहानगरपालिका–९ मा जारको पानी खाएपछि बिरामी परेको भन्दै एक युवकले कारबाहीको माग गरेका छन् ।
जनकनन्दनी गाउँपालिका–९ इनर्वा घर भई जनकपुरमा बस्दै आएका विद्यार्थी इन्द्रजीत गोइतले आफू ३ दिनदेखि बिरामी परेको बताए । रेल्वे स्टेशननजिकै एक किराना पसलबाट किनेको पानीमा मटीतेल मिसिएको उनको भनाइ छ ।
किराना पसल पुगेपछि ‘प्रिया जल कम्पनी’ को पानी रहेको थाहा भएको गोइतले सुनाए । स्रोतका अनुसार उक्त कम्पनी कुनै सरकारी निकायमा दर्ता छैन ।
इन्द्रजीतले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका छन् । छानबिन तथा कारबाहीका प्रशासनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई पत्र काटेको छ । पानी किन्दा अस्वाभाविक गन्ध आएको भन्दै उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसमक्ष छानबिन गरी कारबाही गर्न आग्रह गरेका छन् । कम्पनीले जारमा पानी प्याकिङ गर्दा नै लापरबाही गरेको देखिएकाले कारबाही हुनुपर्ने उनको माग छ ।
कम्पनीका मालिकसँग फोनमा कुरा गर्दा नाम बताउन चाहेनन् । उनले मटीतेल बेच्ने पसलबाट जार किनेकाले मिसिएको हुनसक्ने जवाफ दिए ।