समाचार

प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई आज सार्वजनिक गरिँदै

अहिलेसम्म १० जना पक्राउ
rameshswarnakar 1698663410

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
कार्तिक–१५ बुधबार ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ।बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने जानकारी दिए।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरी सोधपुछ गरेको छ। सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो।

सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका थिए।

गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको वीरगंजस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको हत्याको कारण विवाहोत्तर सम्बन्ध भनिएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार पक्राउ परेकी महिला राधा गुप्ता हुन्। उनी मदरसा टोलमै बसोबास गर्छिन्।पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता छन्।राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन्। उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रिन्सिपल स्वर्णकार विवाहित हुन्। उनका दुई छोरा छन्। केही समयअघि स्‍वर्णकार र राधाबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो। मनोज पनि राधाको प्रेमी हुन्। राधा र प्रिन्सिपल स्‍वर्णकार बीचको सम्बन्ध बाहिरिएपछि मनोजकै जोडबलमा राधाले जागिर छाडेकी थिइन्।

मनोजले स्वर्णकारलाई राधाको पिछा छाड्न भनेका थिए। तर स्वर्णकार नमानेको भन्दै उनीहरूकै योजनामा हत्या भएको खुलेको हो। यसबारेमा प्रहरीले आज विस्तृत रूपमा जानकारी दिनेछ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस