एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक–१६,बिहिबार ।
आफूबारे सार्वजनिक टेलिभिजन कार्यक्रममार्फत दिइएको अभिव्यक्तिलाई लिएर नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने कानूनी उपचार खोज्न नेपाल प्रहरीको साइबर ब्यूरो जाने भएका छन् ।
गत शनिबार नेपाल नेटवर्क टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण भएको ‘आम्मा कसम याँ दुख्छ’ नामक कार्यक्रममा अतिथिका रूपमा आएकी सावित्री सुवेदी ‘जयनारी’ले लामिछानेलाई बध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।
कार्यक्रम प्रस्तोता बिक्की अग्रवालले लामिछानेको फोटो देखाएपछि सावित्रीले उनीमाथि गम्भीर टिप्पणी गर्दै वध गर्नुपर्नेसम्मको अभिव्यक्ति दिएकी थिइन् ।
बलात्कार आरोपको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्ने, व्यक्तिको मानमर्यादा गिराउने र वध गर्नुपर्ने भन्ने जस्तो गम्भीर अभिव्यक्ति टेलिभिजन कार्यक्रममा सामान्य तरिकाले टिप्पणी गरिएकाले कानूनी उपचार खोज्ने तयारी भइरहेको लामिछानेका कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताएका छन ।
घिमिरेले कार्यक्रम निर्माता, प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने विरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिदभने
“कार्यक्रममा आएको उक्त अभिव्यक्ति एउटा विषयमात्र नभएर धेरै कानूनविपरीत छ, घिमिरेले भने, “विचाराधीन मुद्दाबारे सार्वजानिक रूपमा बोल्न अदालतले रोकेको छ । वाक स्वतन्त्रता विरुद्ध गएर सार्वजानिक रुपमा कसैको हत्या गर्नुपर्ने अभिव्यक्ति छ । राष्ट्रका लागि खेलिरहेको खेलाडी र परिवारको मानसिक पीडाका कुराहरू छन् । मुद्दा नै प्रभावित बनाउने अभिव्यक्ति आएको छ । यसो हुँदा अहिले हाम्रो समूहले डकुमेन्ट गरिरहेको छ ।”