एनएमबि न्युज डेक्स, काठमाण्डौँ
मंसिर ४ सोमबार ।
प्युठानमा चार दिनदेखि हराइरहेका आमाछोराको शव फेला परेपछि श्रीमान पक्राउ परेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका –३ की २२ वर्षीया रिमा बुढा र उनका ३ वर्षीय छोरा मुस्कान हराएको चार दिन पछि मृत्त अवस्थामा फेला परेका हुन् । उनीहरुको शव प्रहरीले घरनजिकै खरबारीको पाखोमा फेला पारेको हो ।
प्युठान प्रहरीका अनुसार शुक्रबार राति आमा रिमाको शव फेला परेको थियो भने आमाको शव रहेको स्थानभन्दा केही पर शनिबार दिउँसो दुई बजेतिर छोरा मुस्कानको शव फेला परेको हो। रिमा र मुस्कान कात्तिक २७ देखि हराइरहेका भनिएको थियो। उनीहरू हराएको खबर शुक्रबार मात्रै माइती पक्षले प्रहरीमा दिएका थिए।
रिमाका श्रीमान कमल बुढा मगर घरमै भए पनि उनीहरू हराएका बारेमा प्रहरीमा कुनै सूचना दिएका थिएनन्। घटना अनुसन्धान गर्न रिमाका २३ वर्षीय श्रीमान कमललाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको हो ।