एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस २७ शुक्रबार ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन साह ले महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खोजेका छन्।महानगरका प्रमुख प्रशासकीय अधिृकत बसन्त अधिकारीलाई साहले हटाउन चाहेका छन। यद्यपि अधिकारी अहिले पनि महानगरमै छन्। अहिले अधिकारीको कार्यकक्षमा ताला लगाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकारीले मन्त्रालयसँग दुई हप्ता लामो विदा मागेका छन्। ‘पहिले एक हप्ता लामो विदा माग्नु भएको थियो। एक हप्ताको विदा सकिए पछि पुन अर्को हप्ता विदा माग्नु भएको छ’मन्त्रालयका सहसचिव तथा कर्मचारी प्रशासन शाखाका प्रमुख रामकुमार महतोले भने। उनका अनुसार अधिकारीको विदाको अवधि माघ १० गते मात्र सकिदैछ। महानगर अन्तर्गतको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कर्मचारी नियुक्त गर्ने विषयमा कार्यपालिकाले गरेको निर्णय किर्ते गरेको आरोप अधिकारीमाथि लागेको छ।
उक्त घटना पछि साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई टेलीफोन गरी तत्काल अधिकारीलाई पक्राउ गर्न सम्म भनेका थिए। साहको सचिवालयमा कार्यरत भगवती बिडारीको छोरीलाई जागिरी खुवाउन अधिकारीले कार्यपालिकाको निर्णय किर्ते गरेका थिए। यस घटनामा बालेनले नीजि सचिव नुर निधि न्यौपाने, वरिष्ठ अधिकृत भगवती विडारी तथा स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेललाई निलम्बन गरेका छन्। कार्यपालिकाको निर्णय किर्ते गरेको विषयमा साहले सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेका छन। समितिले दिएको प्रतिबेदन दिएको हुवहु लागु गर्ने साहको भनाइ रहेकोछ।
प्रमुख प्रशासकिय अधिकृत अधिकारी २०७९ भदौ १६ गते संघीय मामिला मन्त्रालयबाट काठमाडौ महानगरपालिकामा सरुवा भएका थिए। कार्यपालिकाको निर्णय किर्ते गर्नु भन्दा अघिसम्म अधिकारी र मेयर साहवीच राम्रो सम्बन्ध थियो। किर्ते काण्ड पछि अधिकारीसँग बालेन निकै चिढिएको बताइएको छ।
संघीय मामिला स्रोतका अनुसार मेयर साहले काठमाडौ महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयका उच्च कर्मचारीहरूलाई आग्रह गरेका छन्। यद्यपि अधिकारी महानगरबाट सरुवा नहुन लविङ गरीरहेका छन्। ‘प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाउनु भनेको अहिलेको प्रशासकीय अधिकुतलाई हटाएर नयाँ ल्याउनु खोजेको संकेत हो’ महानगरका एक कर्मचारीले बताएका छन ।