समाचार

दलित सँग प्रेम गरेको भन्दै बुबाले गरे १५ वर्षिया छोरीको हत्या

murder

एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ १० , बुधबार

बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीलेपक्राउ गरेको छ। दलित युवासँग प्रेममा रहेको भन्दै १५ वर्षिया छोरीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

महतोले गत साउन ११ मा मामाघर मा बस्दै आएकी कोशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुगौलीमा रहेको खोला किनारमा हत्या गरेर शव फालेको प्रहरीले जनाएको छ।

कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो। शरीर र टाउँको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेको थियो। जसको पहिचान करिब २० दिन अघि मात्रै भएको प्रहरीले जनाएको छ। साउन १३ मा प्रहरीले शव फेला पारेपनि त्यसको पहिचान भने हुन सकेको थिएन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार शवको बारेमा कुनै जानकारी नपाएपछि केसलाई थाती राखिएको थियो। तर, करिब साढे ५ महिनादेखि छोरी बेपत्ता रहेकोबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि सोधपुछ गर्दै जादा महतोले छोरीको हत्या गरेको स्वीकार गरेको शाहले बताउनु भयो।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले त्रिवेणीका स्थानीयहरूबाट महतोले आफ्नै छोरीलाई बेपत्ता बनाएको जानकारी आएपछि त्यसको अनुसन्धान गर्दा छोरीको हत्यामा बुवाको संलग्नता रहेको खुलेको हो।पुस २० गते चार महिनादेखि छोरीलाई बेपत्ता बनाएको सूचना पाएपछि गाउँ र परिवारको २० जनाभन्दा बढीलाई व्यक्तिहरूसँग सोधपुछ गर्दा परिवारबाट नै बेपत्ता बनाइएकी किशोरीको हत्या गरेको र घटनालाई लुकाउन खोजिएको प्रहरी उपरिक्षक काफ्लेले बताए।

शुरुमा छोरीलाई बेपत्ता बनाइएको बारेमा सोध्दा हरिन्द्रले छोरी हराएको जवाफ दिएर घटनालाई लुकाउन खोजेका थिए,’ बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले भने, ‘अनुसन्धान गर्दै जाँदा छोरीलाई घरबाट लगेर पर्सा जिल्लामा हत्या गरेर फालिएको पुष्टि भएको हो।’मृतक बालिका स्थनीय गंगा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै गरेको र स्थानीय कृष्ण बैठासँग प्रेम सम्बन्ध रहेका कारणले उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।गाउँमा बैठासँगको सम्बन्धनको बारेमा हल्ला चलेपछि छोरीलाई पर्साको विश्रामपुरमा रहेको मामा घर पठाइएको पनि जवाफ महतोले दिएको प्रहरीले बताएको छ।

बैठा दलित समुदायको रहेको र ऊसँग कुनै सम्बन्ध नराख्न परिवारले पटकपटक कौशिलालाई दबाब दिँदै आएको तर, छोरीले बैठासँगको सम्बन्ध कायम राखेको बारे गाउँमा हल्ला चलेपछि बाध्य भएर छोरीको हत्या गर्नु परेको हरिन्द्रले स्विकारेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए।प्रहरी प्रवक्ता न्यौपानेका अनुसार महतोले २ जना सहयोगीसँग मिलेर छोरीलाई गाडीमा लगेर गाडीमै हत्या गरेको र शवलाई खोला किनारमा फालेका स्वीकारेका छन्।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस