एनएमबि न्युज डेक्स,काठमाडौँ ।
चैत्र २३ ,शुक्रबार
तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नदिएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार चैत्र २१ गतेसम्म पौष मसान्तसम्मको दुधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयमा सम्झौता अनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघले चैत्र २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै किसानहरुलाई आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ । संघका अध्यक्ष हरिप्रसाद कडेंलद्वारा हस्ताक्षार गरिएको विज्ञप्तिमा विभिन्न ४ बुँदे मागहरु राख्दै आन्दोलन गर्नुपर्ने बाध्यता आएको उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा सम्झौता अनुसारको दुग्धको भुक्तानी चैत्र मसान्त भित्र गरिसक्नु पर्ने र बाँकी भुक्तानी निरन्तर दिने ब्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दुग्ध निरन्तर बिक्री हुने ब्यवस्था मिलाउनुपर्ने, दुग्ध उत्पादक किसानलाई दिंदै आएको लिटर अनुदानमा निरन्तर दिने ब्यवस्था गरिनुपर्ने र पशु बिमालाई सहकारी संस्था मार्फत गर्ने ब्यवस्था गरिनु पर्ने उल्लेख छ ।
बिज्ञप्तीमा किसानबाट उत्पादित दुध खरिद गर्ने केही निजी उद्योग बाहेक अधिकांश निजी तथा सरकारी दुग्ध उद्योगबाट विगत ५ महिनादेखिको भुक्तानी प्राप्त नभएको अवस्थामा किसान आर्थिक संकटको परेकोे उल्लेख गरिएको छ । केन्द्रिय दुग्ध सहकारी संघ र जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुद्वारा २०८० फागुन १४ गतेदेखि गरिएको आन्दोलनकैै क्रममा केन्द्रिय दुग्ध सहकारी संघ, नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान र निजी डेरीहरु बिच भएको सम्झौता अनुसार किसानहरुको दुग्ध बिक्रीको भुक्तानी २०८० चैत्र २१ गते भित्र २०८० पौष मसान्तसम्मको भुक्तानी गर्ने र बाँकी भुक्तानी माघ महिनादेखि निरन्तर गर्दै जाने सम्झौता भएकोमा सो सम्झौता कार्यान्वयन नभएकोमा सरकार र उद्योगी किसानको समस्या प्रति गम्भिर नभएकोमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले खेद प्रकट गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । साथै किसानको पसिनाको मूल्य भुक्तानी प्रति सम्बद्ध पक्ष गम्भिर नभएमा आन्दोलनको आधिबेरी सृजना गर्नुपर्ने अवस्था आएको संघका अध्यक्ष हरिप्रसाद कडेंलले बताए । उहाँले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्था गर्ने सरकार र निजी दुग्ध उद्योगीहरु बिरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था सिर्जना भएकाले सम्पूर्ण दुग्ध उत्पादक किसानहरुलाई तयारी अवस्थामा रहन समेत अनुरोध गरे ।साथै केन्द्रिय दुग्ध सहकारी संघ लि. ले तत्सम्बन्धी विषयलाई लिएर निकालेको बिज्ञप्ति प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ऐक्यबद्धता रहेको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
संघले उद्योगीहरुसंग करिव ५० करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेको र सदस्यसंस्थाहरुमार्फत कृषकहरुलाई करिब ४८ करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेको मकवानपुर जिल्ला सहकारी संघ लि. का ब्यवस्थापक कुमारमणी दाहालले बताए ।