नेपालले सार्वजनिक वित्त व्यवस्थापन र सिँचाइ सुधारका नाममा एशियाली विकास बैंक (ए डी बी) बाट १४ अर्ब ३८ करोड रुपैया सहुलियत ऋण लिएको छ । कागजमा हेर्दा यो ऋण सुधारको अवसर जस्तो देखिए पनि व्यवहारमा यसले कस्तो नतिजा दिन्छ भन्ने प्रश्न अझै खुलै छ ।
सार्वजनिक वित्त व्यवस्थापन कमजोर हुनु र सिँचाइ पूर्वाधार अपेक्षित रुपमा विस्तार हुन नसक्नु नेपालका दिर्घकालीन समस्या हुन् । यी समस्या समाधानका लागि ऋण लिनु आफैँमा गलत होइन । तर विगतका अनुभवले के देखाउँछन् भने, सुधारका नाममा लिएका धेरै ऋणहरु कागजी प्रतिवेदन, तालिम र परामर्शमै सीमित भएका छन्, जसको वास्तविक लाभ आम नागरिकले महसुस गर्न पाएका छैनन् ।
सिँचाइ सुधारको कुरा गर्दा अझ गम्भीर प्रश्न उठ्छ । प्रत्येक वर्ष किसानहरु पानीको अभावमा खेती छाड्न बाध्य छन्, तर सिँचाइका परियोजनाहरु समयमै पूरा हुदैनन् । यदि यो ऋण पनि योजना निर्माण, अध्ययन र ठेक्का प्रक्रियामा अल्झिने हो भने, ऋण तिर्ने दायित्व मात्र बढ्नेछ, उत्पादन र रोजगारी भने नबढ्ने खतरा छ ।
सहुलियत ऋण भए पनि अन्नतः तिर्नुपर्ने रकम नै हो । त्यसैले सरकारका लागि चुनौती ऋण लिनेमा होइन, त्यसलाई पारदर्शी, परिणाममुखी र उत्तरदायी ढंगमा खर्च गर्नेमा छ । सुधार देखिने गरी कार्यान्वयन नभए ऋणले सुधार होइन्, पुस्तौँसम्म तानिने बोझ मात्र थप्नेछ ।