समाचारहरु प्रायः अपराध, विवाद र असफलताले भरिएका हुन्छन् । तर कहिलेकाहीं यस्ता खबर पनि आउँछन्, जसले समाजमा आशा, विश्वास र मानवताको उज्यालो झल्को देखाउँछन् । सप्तरीका मजदुर विष्णु सदालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले गरेको सहयोग त्यस्तै एउटा उदाहरण हो । दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका सदाका लागि साइकल केवल सवारी साधन थिएन, त्यो उनको रोजीरोटी,समय र आत्मसम्मानसँग गाँसिएको साधन थियो । पटक—पटक बिग्रिने साइकलका कारण उनले भोग्नुपरेका समस्या राज्यका निकायसम्म पुग्नु र त्यसमा संवेदनशील ढंगले प्रतिक्रिया आउनु आफैमा प्रशंसनीय कुरा हो । प्रहरीलाई प्रायः कारबाही र नियन्त्रणको निकायका रुपमा मात्रै बुझ्ने गरिन्छ । तर सप्तरी प्रहरीले नयाँ साइकल र जाडो कपडा सहयोग गरेर “प्रहरी जनताको सेवक हो” भन्ने भावनालाई व्यवहारमै उतारेको छ । यसले सुरक्षा निकाय र नागरिक बिचको दुरी घटाउन मद्वत पुर्याउँछ ।
यस्ता साना देखिने तर प्रभावमा गहिरा कदमहरुले समाजमा सकारात्मक सोच विकास गर्छन् । राज्य संयन्त्र केवल नियम लागु गर्ने मात्र होइन, पीडामा परेका नागरिकको साहारा बन्न सक्छ भन्ने सन्देश यस घटनाले दिएको छ । मानवताले यही अनुहारलाई निरन्तर दिन सकियो भने समाज अझै भरोसा योग्य र संवेदनशील बन्नेछ ।