मतदान लोकतन्त्रको आत्मा हो, तर यो प्रक्रिया केवल मतपत्रमा चिन्ह लगाउने औपचारिक कर्ममा सीमित हुनु हुँदैन । भोट हाल्नु अगाडी हामीले ती अनुहारलाई सम्झनु पर्छ, जसमा पिडा लुकेको छ, आँखामा आँसु थामिएको छ र मनमा आशा बाँकी छ । ती अनुहारहरु हाम्रो समाजको कठोर यथार्थका साक्षी हुन् ।
राजनितिक भाषण नाराभन्दा पर, आम नागरिकको जीवन संघर्ष, अभाव र पिडाले भरिएको छ । जनताको नाममा सत्ता हासिल गरिन्छ, तर जनताकै पीडा बिर्सिने प्रवृत्ति मौलाउँदै गएको छ । यस्तो अवस्थामा मतदाताको विवेक नै लोकतन्त्रको अन्तिम भरोसा हो ।
मतदानले केवल सरकार चयन गर्दैन, यसले निति प्राथमिकता र भविष्यको दिशा निर्धारण गर्छ । आज गरिएको एउटा गलत निर्णयले भोलीका पुस्तालाई समेत गलत असर पार्न सक्छ । त्यसैले मतदान केन्द्र पुग्दा ती श्रमिकहरुका हात, ती आमाका आँखा र ती युवाका अधुरा सपना सम्झिनु आवश्यक छ ।
समृद्ध र न्यायपूर्ण समाज कुनै वाचा वा घोषणाबाट होइन, सचेत र जिम्मेवारी मतदानबाट निर्माण हुन्छ । विवेक प्रयोग गरेर हालिएको प्रत्येक मत जनताको पक्षमा उभिने शक्ति बन्नुपर्छ । लोकतन्त्रलाई बलियो बनाउने जिम्मेवारी हामी सबैको काँधमा छ ।