जेन–जी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निजी निवासमा भएको आगजनीले नेपाली समाजको गहिरो रोग उजागर गरेको छ । सो घटनामा भम्भीर घाइते भएकी उनकी पत्नी रविलक्ष्मी चित्रकार उपचारका लागि भारत पुग्न बाध्य भइन्, र उपचार पुरा गरी हालै स्वदेश फर्किएकी छन् । यो घटनाक्रम कुनै एक परिवारको पीडामा सीमित छैन, यसले आन्दोलनका नाममा फैलिँदै गएको अराजक प्रवृतिमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
स्वदेश फर्किएपछि रविलक्ष्मी चित्रकारले राज्यसँग कुनै गुनासो वा माग नरहेको स्पष्ट पार्नु मानवीय संवेदनशीलता र परपिक्वताको उदाहरण हो । तर, उनको भनाइ अझ अर्थपूर्ण छ—आन्दोलनका नाममा देशमा अराजकता मच्चाउने र निजी—सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेहरुलाई सरकारले खोजीखोजी कारबाही गनुपर्छ । यो आग्रह प्रतिशोध होइन, विधिको शासन कायम राख्ने माग हो ।
लोकतान्त्रिक व्यवस्थामा विरोध र असमति व्यक्त गर्नु नागरिकको अधिकार हो तर त्यो अधिकार हिंसा, आगजनी, र डरको वातावरण सिर्जना गर्ने माध्यम बन्नु लोकतन्त्रकै अपमान हो । जेन—जी आन्दोलनका क्रममा देखिएका घटनाले राज्यको सुरक्षा संयन्त्र र कानुन कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ । दोषी पहिचान र कारबाहीमा ढिलाइ हुनु भनेको अराजकतालाई मौन समर्थन गर्नु सरह हो ।
यसर्थ, सरकारले पीडितको सहनशीलतालाई कमजोरीका रुपमा होइन, न्याय स्थापना गर्ने अवसरका रुपमा लिनु पर्छ । हिंसात्मक गतिविधिमा संलग्न जो—कोही भएपनि उनीहरुलाई कानुनको दायरामा ल्याउनु आजको अपरिहार्य आवश्यकता हो । अन्यथा, शान्तिपूर्ण आन्दोलन र हिंस्रक अराजकताको सीमारेखा मेटिँदै जाने खतरा रहिरहन्छ ।
रविलक्ष्मी चित्रकारको पिडा र उनका शब्दहरु राज्यका लागि चेतावनी हुन्—लोकतन्त्र रक्षा भाषणले होइन, कानुनको निष्पक्ष र दृढ कार्यान्वयनले हुन्छ । यही सत्यलाई आत्मसाथ गर्न सके मात्र समाज सुरक्षित र आन्दोलनहरु सार्थक बन्न सक्छन् ।