नेपाली काग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नु सामान्य राजनीति निर्णय मात्र होइन, यो पार्टी भित्रको नेतृत्व संस्कारमाथि भम्भीर प्रश्न उठाउने साहसी कदम हो । सत्ता, पद र निर्वाचनको प्रतिस्पर्धामै सीमित रहने नेपाली राजनीतिमा यस्तो घोषणा दुर्लभ मानिन्छ ।
दुवै नेताले युवा र नयाँ अनुहारलाई अवसर दिन तथा नेतृत्व विकासमा सहयोग गर्ने उदेश्य अघि सारेका छन् । यो भनाइ केवल औपचारिक होइन, पार्टी भित्र लामो समयदेखि देखिँदै आएको अवसरको असमानता र गुटगत राजनीतिप्रति गरिएको मौन आलोचना पनि हो । नेतृत्व पुस्तान्तरणको कुरा भाषणमा धेरै सुनिए पनि व्यवहारमा कमै देखिने सन्दर्भमा यो निर्णय उदाहरणीय बनेको छ । तर, यहाँ प्रश्न पनि उठ्छ—के पार्टी नेतृत्वले यो अवसरलाई सदुपयोग गर्न सक्छ ? नयाँ अनुहारलाई साच्चै अघि सार्ने वातावरण बन्छ कि फेरि पुरानै अनुहारको पुनरावृत्ति हुन्छ ? यदि पार्टीले आत्मसमीक्षा गर्दै नयाँ सोच, नयाँ उर्जा र नयाँ नेतृत्वलाई जिम्मेवारी दिन सकेन भने गगन—विश्वप्रकाशको त्याग अर्थहिन बन्न सक्छ । यो निर्णयलाई पलायनको रुपमा होइन, राजनिितक संस्कार सुधार गर्ने प्रयत्नका रुपमा बुझ्न जरुरी छ । नेतृत्व पदमा नबसिकन पनि राजनीति गर्न सकिन्छ, मार्गदर्शन र वैचारिक योजनाबाट पनि परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश उनीहरुले दिएका छन् ।
अब जिम्मेवारी पार्टीको काँधमा छ—यो साहसी कदमलाई इतिहासमा सकारात्मक मोड बनाउने कि अर्को अवसर गुमाउने ? नेपाली काग्रेसको भविष्य त्यसैमा निर्भर छ ।