राष्ट्रिय राजनीतिमा नयाँ समीकरणको संकेत दिँदै अघि बढेको रास्वपा—बालेन—उज्यालो नेपाल गठबन्धनको प्रयास आइतबार मध्यरातसम्म पनि निष्कर्षमा पुग्न सकेन । रास्वपा सभापति रवि लामिछाने, काठमाण्डौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच भएको निर्णायक भनिएको वार्ता अन्नतः पद बाँडफाँडको अड्चनमा अड्किएको हो ।
वार्ताको मुख्य विवाद बिन्दु कुलमान घिसिङलाई दिने जिम्मेवारीमै केन्द्रित देखियो । सहअध्यक्ष बनाउने कि कार्यकारी सभापति वा प्रधानमन्त्रीको भूमिकामा आलोपालो व्यवस्था गर्ने भन्ने बिषयमा सहमति जुट्न नसक्दा राजनीति उत्साह तत्कालका लागि स्थगित जस्तै बनेको छ । तीन पक्ष परिवर्तनको एजेन्डामा एकमत देखिए पनि नेतृत्व संरचनामा कसरी शक्ति सन्तुलन भन्ने प्रश्नको सहकार्यले जटिल बनाइदिएको छ ।
यद्यपि, समय अझै पूर्ण रुपमा सकिएको छैन । समानुपातिक बन्दसुचि बुझाउने समयसिमा नजिकिँदै गर्दा आज पनि सहमतिको प्रयास जारी रहने नेताहरुले बताएका छन् । यसले राजनीतिक इच्क्षाशक्ति अझै जीवित रहेको संकेत गर्छ, तर त्यही इच्क्षा शक्तिलाई व्यवहारिक लचकताले साथ नदिएसम्म “नयाँ विकल्प” भन्ने नारामात्रै सीमित हुने खतरा पनि उत्तिकै छ ।
जनताले खोजेको नेतृत्व पदको हिसाब—किताबभन्दा माथि उठेर साझा दृष्टिकोण र स्पष्ट मार्गचित्र हो । यदि यो प्रयास पनि व्यक्तिगत आकांक्षाको भाग थेगन नसकी असफल भयो भने, त्यसको मूल्य फेरी आम नागरिकले नै तिर्नुपर्नेछ ।