राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज केन्द्रीय सचिवालय बैठकमा जुट्दैछ। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने यो बैठक सामान्य औपचारिकताभन्दा धेरै अर्थ बोकेको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रास्वपाको सांगठनिक तयारी, रणनीति र राजनीतिक दिशा तय गर्ने निर्णायक मञ्चका रूपमा यस बैठकलाई हेरिएको छ।
बैठकको मुख्य केन्द्रबिन्दु प्रतिनिधिसभा सदस्य निर्वाचन हो। उम्मेदवार छनोटदेखि केन्द्रीय समिति विस्तारसम्मका विषयले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र नेतृत्व क्षमतालाई स्पष्ट रूपमा उजागर गर्नेछ। विशेषतः निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि र निर्वाचन स्रोत व्यवस्थापनजस्ता विषयहरूमा हुने निर्णयले रास्वपाको चुनावी संगठन कत्तिको व्यवस्थित र प्रभावकारी बन्नेछ भन्ने संकेत दिनेछ।
यससँगै, प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश अभियान तथा स्थानीय तहमा उम्मेदवार क्लब गठन गर्ने प्रस्तावहरूले रास्वपाको आधार विस्तार र जनस्तरसँगको सम्बन्ध मजबुत बनाउने रणनीति झल्काउँछन्। नयाँ राजनीतिक शक्ति भनेर चिनिँदै आएको रास्वपाका लागि यी कार्यक्रमहरू केवल संख्यात्मक विस्तार मात्र होइन, संगठनात्मक अनुशासन र राजनीतिक विश्वसनीयता परीक्षण गर्ने अवसरसमेत हुन् ।