आफ्नै बसमा अस्ताए दीपेश-

रामेछापको मन्थली नगरपालिका–६ स्थित बेनीघाटमा भएको भयानक बस दुर्घटनाले १२ जनाको ज्यान लियो। बा प्र ००१–०५ ख ९९७५ नम्बरको (पूर्व अरनिको यातायात) बस काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गर्दा तामाकोसी नदीमा खसेको थियो। उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये एक थिए—दीपेश बस्नेत।
दीपेश केवल एक यात्रु मात्र थिएनन्, उनी सोही बसका धनी पनि थिए। करिब एक वर्षअघि कतारको वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका उनले ६ महिनाअघि मात्रै मेहनत र सपनाको फलस्वरूप उक्त बस किनेका थिए। विडम्बना, आज त्यही बसमा सवार भई यात्रामा निस्कँदा उनी आफैं असमयमै अस्ताए।
३४ वर्षीय दीपेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप, लिखु तामाकोसी गाउँपालिकाका संगठन विभाग प्रमुख समेत थिए। समाज र राजनीतिक क्षेत्रमा सक्रिय उनी जीवनलाई नयाँ दिशामा लैजाने प्रयासमा थिए। तर नियतिले उनको सपना, संघर्ष र परिवारको भविष्य एकै क्षणमा खोसिदियो।
काठमाडौँमा बसोबास गर्दै आएका दीपेशका पछाडि बुवा, आमा, श्रीमती, १३ वर्षीया छोरी र १० वर्षीया छोरा छन्। आज ती दुई बालबालिका बाबुविहीन बनेका छन्, र परिवार शोकको गहिरो अन्धकारमा डुबेको छ।

NMB Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *