आगामी निर्वाचन नजिकिँदै गर्दा फेरि एकपटक राजनीतिक भाष्य तातेको छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले “आगामी निर्वाचनपछि बलियो सरकार बन्नेमा आफू विश्वस्त” रहेको अभिव्यक्ति दिएका छन्। यो भनाइले आम नागरिकको मनमा आशा र शंका दुवै जन्माएको छ।
नेपालको पछिल्लो राजनीतिक इतिहास हेर्दा ‘बलियो सरकार’ भन्ने शब्द आफैँमा विडम्बनापूर्ण जस्तो लाग्न थालेको छ। बारम्बार फेरिने सरकार, टुट्ने–जोडिने गठबन्धन र सत्ता–स्वार्थले राजनीति नागरिकका लागि विश्वास गुमाउने माध्यम बन्दै गएको छ। यस्तै पृष्ठभूमिमा लामिछानेको भनाइ केवल राजनीतिक नारामै सीमित हुन्छ कि साँच्चिकै परिवर्तनको संकेत हो, यो गम्भीर प्रश्न बनेको छ।
रास्वपाले वैकल्पिक राजनीतिका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, पारदर्शिता र परिणाममुखी शासनका कुरा आकर्षक त छन्। तर, यी नारा व्यवहारमा कसरी रूपान्तरण हुन्छन् भन्ने कुरा अझै स्पष्ट देखिएको छैन। जनताले अब भाषण होइन, ठोस कार्ययोजना र संस्थागत सुधार चाहेका छन्।