काँग्रेसद्वारा ४३ लाख २० हजार ८१० रुपैयाँ दशैं भत्ता फिर्ता गर्ने निर्णय

३ कात्तिक, काठमाडौं । चौतर्फी आलोचनापछि नेपाली काँग्रेसका सबै संघीय सांसदले दसैं भत्ताबापत प्राप्त गरेको रकम फिर्ता गर्ने निर्णय गरेको छ ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई प्राप्त हुने कूल रकम ४३ लाख २० हजार ८१० रुपैयाँ कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएका छन् ।

‘कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दशै भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराईएको दशै भत्ता वापतको रकम नेपाली कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ,’ खाणले भनेका छन्, ‘उक्त रकम वापत हुन आउने ४३ लाख २० हजार ८ सय १० रुपैयाँ जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गर्दछ ।

एनएमबि न्यूज