लमजुङमा करेण्ट लागेर एकको मृत्यु, गाउँ नै शाेकमा

६ कात्तिक, लमजुङ । लमजुङमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । राइनास नगरपालिका –९ मोहोरियाकोटका २८ वर्षीय रवीन्द्र पराजुलीको खम्बा गाड्ने क्रममा करेण्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सोही वडामा सौर्यबत्तीका लागि नयाँ खम्बा गाड्ने क्रममा नाङ्गो तारमा छुन पुग्दा उनलाई करेण्ट लागेको थियो । उनलाई नगरपालिकाको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लैजाँदा बाटामा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

शव परीक्षणका लागि बेँसीशहर नगरपालिका –८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ । केही समयपछि परीक्षण गरेर परिवारलाई शव बुझाइने प्रहरीले जनाएको छ । बडादशैँका बेला गाउँले  मिलेर चौतारानिर उज्यालो बनाउनका लागि सौर्यबत्ती राख्ने क्रममा करेण्ट लागेर उनको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।