भारतमा कोभिड-१९ संक्रमित ८० लाख ८८ हजार नाघे, १ लाख २१ हजार बढीको मृत्यु

१४ कात्तिक, काठमाडौं । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार कोभिड १९ बाट संक्रमितमध्ये करिब ७३ लाख ९४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड १९ को संक्रमणबाट हालसम्म १ लाख २१ हजार ९० जनाको मृत्यु भएको छ ।

केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ५ लाख ९४ हजारको हाराहारीमा रहेको जनाएको छ ।

परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या ११ करोड ६४ लाख रहेको छ ।

एजेन्सी