आयोडिनयुक्त नुनको प्रयोगमा वृद्धि

१ मंसिर, सिरहा । सिरहाका सीमावर्ती क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरूको संख्यामा वृद्धि भएको हो ।

वर्षौंदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासी पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् । आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे व्यापक प्रचारप्रसार,  स्थानीय प्रशासनले भारतीय नुनको आयातमा गरिएको कडाइ र सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि सीमावर्ती ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको हो ।

पछिल्लो समय यस क्षेत्रका नागरिकमा दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुनप्रति आकर्षण बढेको बरियापट्टी गाउँपालिका–४ का सरोज कुमार महतोले बताए । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गाउँमै आयोडिनयुक्त नुनको महत्व, उपयोगिता र फाइदाबारे गाउँ गाउँमा प्रचारप्रसार गरेर बिक्री गर्न थालेपछि यसप्रति उपभोक्ताको आकर्षण बढेको उनको भनाइ छ ।

आयोडिन नुन उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्या कम हुँदै जान्छ भने मानसिक रुपमा फुर्तिलो, शारीरिक रुपमा स्वस्थ्य, स्मरण शक्तिको वृद्धिसँगै बालबालिकाहरुमा पढ्ने रुचीको विकास हुने हुँदा आयोडिनयुक्त नुनको प्रयोग बढ्दै गएको सखुवानन्कारकट्टी गाउँपालिकाका शम्भु यादवले बताए ।

विगतमा आयोडिनयुक्त नुन लिनका लागि टाढा जानु पर्ने भएकाले पनि स्थानीयवासी ढिके नुन नै बढी प्रयोग गरिने गरेको थियो । अहिले गाउँमै सुपथ मूल्यमा पाउन थालेपछि हामीलाई सजिलो भएको उनको भनाइ छ । प्रहरी प्रशासनले पनि भारतीय नुन आयातमा कडाइ गरेपछि भारतीय ढिके नुन बन्द भएको उनको भनाइ छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।