४ मंसिर, काठमाडौं । खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले निःशुल्क खाद्यान्न वितरणको अभियान पनि थाल्ने भएको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल छेउमा खाना खुवाइरहेको हाम्रो टीम नेपालले खाद्यान्न पनि सहयोग गर्न थालेको हो ।
महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आउन नसक्ने र घरमा पकाएर खाने अवस्था भएकाहरुको हकमा निःशुल्क खाद्यान्न वितरण गर्न लागिएको हाम्रो टीम नेपालले जनाएको छ । हाम्रो टीम नेपालका संस्थापक सहसचिव लक्ष्मणसिंह धामीले महानगरको अनुरोध अनुसारको ठाउँबाट नै निःशुल्क खाना खुवाउने अभियान जारी रहेको बताए ।
उनले हिजो मात्रै त्यहाँ आउन नसक्ने र घरमा आफै पकाएर खान सक्ने अवस्था भएका १५ जनालाई ग्यासको रेगुलेटरसहित चामल, दाल, नुन तेल लगायतका सामग्री दिइएको बताए । काम गर्न सक्नेहरुलाई रोजगारी दिलाउने विषयमा महानगरपालिकासँग छलफल भइरहेको पनि उनले बताए । महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो ।
तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टीम नेपालले मंगलबार खाना खुवाएको थियो । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि हिजोबाट सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हो । नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता छ । काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन विहान ९ बजे थापाथली स्थित व्यवस्था गरिएको गरिएको छ ।