मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

काठमाडौं, साउन २१ –

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७६’ का लागि सातवटा पुस्तक छनोट गरेको छ । गुठीलाई प्राप्त १५१ पुस्तकमध्ये सातवटा पुस्तक छनोटमा परेका हुन् ।

प्राप्त पुस्तकमध्येबाट बढीमा उत्कृष्ट १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो। छनौटमा परेका यी पुस्तकमध्ये एउटा पुस्तकलाई २०७६ सालको मदन पुरस्कार दिइनेछ ।

गुठीले मदन पुरस्कारका लागि विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १ – ३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित बिष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ छनौट गरेको छ ।

वि.स. २०१२ सालमा स्थापना भएको मदन पुरस्कार गुठीले पहिलोपटक २०१३ सालमा सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशीले उक्त पुरस्कार पाएका थिए । चार लाख राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइएको छ ।

एनएमबि न्यूज