काठमाडौं, साउन २२ –
सिन्धुपाल्चोककाे चौतारा नगरपालिका १ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । रोजगारीको प्रलोभनमा महिलाहरु बेचबिखन तथा ओसारपसारमा संलग्न भएका तामाङलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाण्डौबाट विभिन्न मितिमा ४ जना नेपाली महिलाहरुलाई विभिन्न मितिमा कुवेतमा घरायासी काममा लगाईदिने र राम्रो तलब पाउने भनी प्रलोभन देखाएर २०७३ साल चैत्र महिनामा बिरगञ्जको नाका हुदै भारतको नयां दिल्लीस्थित उत्तमपुरमा पुर्याएर बन्धक बनाई राखेका थिए।
उनीहरुको २०७४ जेठ महिनामा उद्धार भएको मानव बेचबिखन अनुसन्धान व्युरो प्रबक्ता प्रउ गोविन्द थपलियाले बताए । उनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान शुरु गरी कारवाही थालिएको प्रहरीले जनाएको छ।