समाचार

अमेरिकासँग थप आर्थिक, राजनीतिक तथा कुटनीति सम्बन्ध सुदृढ गर्नेछु: राजदूत खतिवडा

yubraj khatiwada post

१२ पुस, काठमाडौं । अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा.युवराज खतिवडाले नेपाल–अमेरिकाबीच थप आर्थिक, राजनीतिक तथा कुटनीति सम्बन्ध सुदृढ गर्ने बताएका छन् ।

अमेरिकामा कार्यभार सम्हाल्न जानुअघि नेपाल उद्योग परिसंघसँगको अन्तर्क्रियामा राजदूत खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्‌भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताएका हुन् ।

अमेरिकाले केही वस्तुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिका स्थित बहुराष्ट्रिय वित्तीय संस्थाहरु विश्व बैँक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेको पनि राजदूत खतिवडाले उल्लेख गरे ।

राजदूत खतिवडासँगको अन्तर्क्रियामा नेपाल उद्योग परिसंघले संयुक्त राज्य अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवर्द्धनका लागि भूमिका खेल्न राजदूत खतिवडासँग आग्रह गरेको छ। राजदूत खतिवडासँगको अन्तर्क्रियामा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, “नेपाल उद्योग परिसंघले आर्थिक कूटनीतिलाई उच्च महत्त्व दिँदै आएको छ । अर्थतन्त्रको कुशल विज्ञका रुपमा परिचित तथा जिम्मेवारी निर्वाह गरिसक्नुभएका खतिवडाको अनुभवबाट उहाँको कार्यकालमा समेत नेपालको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवर्द्धन गर्न अमेरिकी पुँजी तथा प्रविधि भित्र्याउन ठूलो सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।”

सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले प्रविधिका क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने, तयारी पोसाकको अमेरिकी बजार पहुँचका लागि थप प्रयास गर्ने, अमेरिका अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई नेपालमै अवसर देखाउनेतर्फ राजदूत खतिवडाको सक्रिय भूमिकाको अपेक्षा गरिएको बताए । परिसंघका उपाध्यक्ष अनुज अग्रवालले वातावरण संरक्षणमा अमेरिकी लगानी बढ्ने देखिएकाले त्यसलाई नेपालले पनि प्राप्त गर्न अहिलेदेखि प्रयास गर्नुपर्नेमा ध्यान पुर्‍याउन आग्रह गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस