१६ पुस, काठमाडौं । अस्पतालमा काम गर्न असुरक्षा भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरूले बताएका छन् ।
गत पुस १० गते ११ बजे राति उपचारको लागि अस्पतालमा ल्याइएका बिरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकलाई हातपात गरेको उनीहरूले बताए । बिरामीका कुरुवा अनुराग रसाइलीले ड्युटीमा रहेका १ जना चिकित्सक र ३ जना प्यारामेडिकलाई हातपात गर्नुको साथै अपशब्द बोलेको डाक्टर राजेन्द्र बहादुर क्षेत्रीले बताए ।
बिरामीको अवस्था जटिल रहेको कुरुवालाई जानकारी दिँदा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएको क्षेत्रीले बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हातपात गर्ने कुरुवालाई कारबाहीको माग राख्दै अस्पताल प्रशासन र प्रहरीमा उजुरी दिए पनि कुनै कारबाही प्रक्रिया अघि नबढ्दा आफूहरू आन्दोलित हुन बाध्य भएको बताएका छन् ।
दमको जटिल समस्या देखिएका बिरामीलाई उनका छोराले अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए । जाँचपछि डाक्टरले बिरामीलाई तत्काल भेन्टिलेटर आवश्यक रहेको तर अस्पतालमा बेड खाली नभएको भनी ब्रिफिङ गर्दै गर्दा उनले हातपात गरेको अस्पतालको आरोप छ ।