२४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संघसंस्थाले विरोध प्रदर्शन गरेका छन् । काँग्रेसका शुभेच्छुक संस्थाले संयुक्त रुपमा काठमाडौं टुँडिखेल र भद्रकालीमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले विधिको ‘शासन कायम गर, पेशाकर्मीलाई बनाइयो आहत, महामारीमा पनि दिइएन राहत, संघीय शिक्षा ऐन खारेज गर, मानवअधिकारको रक्षा गर, पेशाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार’ लेखेका पोस्टर शरीरमा टाँसेका थिए ।
प्रदर्शनमा उनीहरुले सोही नारा पनि लगाएका थिए । मातृ पार्टीको निर्देशन अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो । कांग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ ।



