४ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ ।
पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको आज (बिहीबार) बिहान शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेले जनाएको छ ।
यससँगै पहिरोमा ज्यान गुमाउने २८ जना पुगेको छ । हालसम्म फेला परेका शवमध्ये १५ पुरूष र १३ महिला रहेका छन् । पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीय जुटेका छन् ।
एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालोको भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस