२६ फागुन, काठमाडौं । माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सत्ता समिकरणको विषयमा छलफल भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका हुन् ।
सो छलफलमा कुनै कुरामा सहमति नभएको बताइएको छ । जसपा नेपालका नेताहरुले आफूहरुले मात्र सहयोग गरेर माओवादी केन्द्रको नेतृत्वमा सरकार नबन्ने भएकाले पहिला काँग्रेससँग कुरा मिलाउन सुझाव दिएको जसपा नेपालका एक नेताले बताए ।
यसपाली आफूहरुको माग पूरा भए मात्र सरकारमा कसैलाई सहयोग गर्ने कुरा राखेर छलफललाई निरन्तरता दिने सहमति गर्दै पेरिडाँडाबाट नेताहरु निस्किएका छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतको विषयमा आफ्नो पार्टी सुरुदेखि नै सकारात्मक रहेको र त्यसका लागि पटक पटक प्रयास पनि गरेको तर एमालेले हुन नदिएको कुरा जसपाका नेताहरुलाई स्मरण गराएका थिए ।