‘खैरे’का लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

१ बैशाख, काठमाडौं । काभ्रेको धुलिखेलमा बिजुलीको पोलमा बाँधेर ‘खैरे’ नामक कुकुरको हत्या गरिएको विरूद्धमा प्रदर्शन भएको छ । माइतीघर मण्डलामा बुधबार दिउँसो पशु अधिकारकर्मी तथा अभियन्ताहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले आफूले पालेका कुकुरहरूलाई प्रदर्शनमा ल्याएका थिए । प्रदर्शनकारीहरूले खैरेको तस्वीर बोकेका थिए । नारा लेखिएका कागज पनि कुकुरको घाँटीमा झुण्ड्याइएको थियो ।

दुई साताअघि काभ्रेको धुलिखेल नगरपालिका-४ स्थित २८ किलोमा खैरेको हत्या भएको थियो । दुई जना पुरूषले बिजुलीको पोलमा बाँधेर फलामको रड र कोदालोले हिर्काएर मारेका थिए ।

khaire protest

स्थानीय एक जना बालकलाई टोकेको आरोपमा उनीहरूले खैरेलाई क्रूरतापूर्वक मारेको भिडिओ नजिकैको होस्टलमा बस्ने एक विद्यार्थीले मोबाइलमा खिचेका थिए । सो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

एनएमबि न्यूज