वीरगञ्जको नारायणी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

२ बैशाख, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएका पर्साकी एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–२ की ४२ वर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । ती महिलाको उपचारकै क्रममा बिहीबार बिहान सवा ८ बजेतिर मृत्यु भएको डा. दासले बताए ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई चैत्र २९ गते आइतबार राति ८ बजे अस्पताल भर्ना गरिएको थियो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित छपकैया बस्ने ती महिलाको उपचारकै क्रममा तीन दिन पछि मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

अस्पताल भर्ना भएकै दिन उनमा कोरोना संक्रमण भएको पुष्टि भएको दासले जानकारी दिए ।

एनएमबि न्यूज