१२ बैशाख, बुटवल । रुपन्देहीमा कोभिड संक्रमितको संख्या बढ्दै गए पछि रुपन्देही प्रशासनले भिड नियन्त्रण गर्ने प्रयास थालेको छ ।
यसअघि नै बसेको डिसीसीएमसीको बैठकले भैरहवा र बुटवल लगायतका बिद्यालय बन्द गर्ने निर्णय गरि सकेको थियो । अहिले भने रुपन्देहीका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ ।
आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्मा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख‚ अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानिय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको छ ।
शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाईको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाईको ब्यवस्था गर्न भनेको छ । यसको साथै सबै किसिमका पूर्व निर्धारित परिक्षाहरु समेत हाललाई स्थगन गर्न बैठकले निर्णय गरेको छ ।
यसको साथै बैठकले रुपन्देहीका सार्वजनिक तथा निजि यातायातका साधनहरु जोर बिजोर प्रणालीको आधारमा सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए ।
उनले जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने ब्यवस्था मिलाउन समन्वय बैठकले निर्णय गरेको खुलाए ।