१३ भदौ, चितवन । चितवन जिल्लाको रत्ननगरपालिकाका ३७ जनासहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रत्ननगर नगरपालिकाको वडा नम्बर ४ का ३५ जना पुरूष र दुई जना महिलामा संक्रमण भएको हो ।
त्यस्तै, भरतपुर महानगरपालिकाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरको वडा नम्बर ४ मा दुई महिला र १३ पुरूषसहित १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
महानगरका वडा नम्बर २, ६, १४, १९ र २८ का एक–एक जनामा कोरोना देखिएको छ । वडा नम्बर १० मा भने ७० र ३५ वर्षका दुई पुरूषमा कोरोना संक्रमण देखिएको हो । भरतपुर महानगरपालिकाका संक्रमितहरू २२ देखि ७० वर्ष उमेर समूहका छन् ।
यस्तै राप्ती नगरपालिकाको वडा नम्बर ८ निवासी २३ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । नवलपुरको गैंडाकोट १० का ४६ वर्षीय पुरूष, तनहुँको भानु ४ का ३३ वर्षीय पुरूष, रुपन्देहीको लुम्बिनी ३ का ३२ वर्षीय पुरूष र पाल्पाको रम्भा ३ का ६४ वर्षीय पुरूषमा समेत कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।