१४ भदौ, काठमाडौं । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट चापाकोट नगरपालिका जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका ५ स्थित चापाकोट जाने सडकमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
काठमाडौंमा बिरामी छोडेर चापाकोटका २८ वर्षीया गर्भवती महिलालाई घर लिएर फर्कने क्रममा एम्बुलेन्स दुर्घटनामा परेको हो ।
दुर्घटनामा चापाकोट- ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । उनीहरुको वालिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चापाकोट- ९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।
दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।