५ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको राजनीतिक सल्लाहकारमा लमजुङ दुराडाँडाका डा. भिष्म अधिकारी नियुक्त भएका छन् । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री रामशरण बस्नेतले बताए ।
अधिकारीको नियुक्ति सँगै यसअघिका सल्लाहकार नेकपा एमाले गण्डकी प्रदेश सचिव गोविन्दबहादुर नेपाली पदमुक्त भएका छन् । नवनियुक्त सल्लाहकार अधिकारी संविधानसभा सदस्य हुन् भने नेपाली नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव छन् ।
त्यसैगरी बैठकले मन्त्री नियुक्त भएका रामशरण बस्नेतलाई सरकारको प्रवक्ता तोकेको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री रहेका बस्नेतलाई मन्त्रालय नतोकिए पनि सरकारको प्रवक्ता तोकिएको हो। उनी पहिलो कार्यकालमा पनि प्रदेश सरकारको प्रवक्ता थिए।
त्यस्तै बैठकले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.गिरिधारी शर्मा र सदस्यमा विष्णु बराललाई निरन्तरता दिएको छ । उनीहरु दुबै अघिल्लो कार्यक्रममा योजना आयोगमै नियुक्त भएका थिए ।